बढ्दो सहरीकरण अनि खस्कदो सहरी वातावरण

हामी मानिस आफू चैँ सेवा सुविधा अनि सम्पन्न जीवन शैलीमा रमाउँछौ तर त्यो क्रममा नदि नालाहरू जस्ता प्राकृतिक सम्पदाको प्रदूषण गर्न चैँ पछि पर्दैनौ  । अझ त्यो त हाम्रो विषय नै हैन भन्ने ठान्छौ । आज टौदहबाट निस्किएर बाग्मती नदि किनार चरा नियाल्दै हिँड्दा हाम्रो लापरबाहीको वास्तविकता थाह भयो । हामी त बस अनावश्यक चीजबीज हुन्, केही प्लास्टिक त हो भनी नदी नालामा फाल्छौं अनि बिर्सन्छौं तर त्यसको दीर्घकालीन असर के हो न चासो राख्छौ, न बुझ्न नै खोज्छौ । सायद यो हाम्रो प्रणाली कै दोष होला । मलाई पनि यो नदीको किनारमा नहिडुन्जेल प्रदूषणको मात्रा के कस्तो हुन्छ, जीव जन्तुमा के कस्तो असर हुन सक्छ थाह थिएन । सायद त्यति गहिरो चासो पनि थिएन, किनकी यो विषयमा न हाम्रो समाज न त हाम्रो शिक्षा प्रणालीले नै खासै चासो राखेको पाइन्न । पढाई भनेको अनेक सूत्र अनि नचाहिने विषय बस्तुबारे सम्झन लगाउने अनि रटाएकै विषय कापीमा लेख्न लगाई धेरै थोरै नम्बर दिनु हो भन्ठान्छौं । व्यवहारिक विषयबारे चासो किन दिनु पर्यो र, हैन? तर यस्ता समस्याका कारण अन्य जीव जन्तु चराचुरुंगीहरु वासस्थानमा कति सम्म असर पर्न सक्छ, हामीले खासै मतलब राखेको देखिँदैन । हामी त बस एक दिन नाक छोपेर हिँडौला, यी विषयबारे लेखौला, प्रदूषणको बहस चलाउला । भोलि बिर्सेर नै अघि बढौला । तर यी निर्दोष चराहरु त बाध्य छन् यो गन्हाउने पानीलाई नै आफ्नो घर बनाउन । के उसको अधिकार छैन, हामी जस्तै सुन्दर घरको चाहना गर्ने ? आफ्नो बच्चालाई निश्चल पानीसँगै खेल्न सिकाउने ?

दोष मेरो छ, तपाइको छ, हरेकको छ । स्विकारौं । गाउँ सहरका घरहरूबाट निस्किने ढलको व्यवस्थापन बारेमा नै हामी सोच्दैनौ । आवाज उठाउँदैनौं । हो समाधान हामीलाई थाहा नहोला । तर बुझ्ने अनि यी विषयबारे बोल्ने त कार्य सुरु गरौं । अध्ययनकर्ता,अनुसन्धानकर्ताहरु लाई गुहारौ । सरकारलाई घचघच्याऔं । कतिपय देशमा भ्रष्टाचार गर्ने प्रम देखि राष्ट्रपति सम्मलाई कडा कारबाही हुन्छ । हामी वातावरणीय पक्षलाई ख्याल गर्ने किसिमको कडा नियम बनाउन । कर तथा जरिबानाको सख्त नियम ल्याऔं । हरेक नगर गाउँपालिकामा यतिका कर्मचारीहरू पठाएका छौं, तीनको उचित प्रयोग होस्, यी अनि यस्ता विषयहरूमा पनि । हाम्रा जैविक विविधतालाई आयको स्रोत बनाउन अनि पर्यटनबाट समृद्धिको सपना पूरा गर्न प्राकृतिक सम्पदा संरक्षणको पाटोलाई बलियो बनाउन आवश्यक छ । जसको पहिलो पाइला जनस्तरमा प्राकृतिक सम्पदाको महत्व बुझाउन सक्नु हो । जनावरमा पक्कै मान्छे को जस्तो बुझाई हुँदैन । हामीले जति नै उनीहरूको घर बिगारे पनि, प्रदूषित गरे पनि हामीसँग द्वन्दमा उत्रिने सामर्थ्य उनीहरू सँग छैन । जे छ त्यसैलाई आफ्नो घरको रूपमा स्विकार्न बाध्य हुन्छन् । तर त्यो प्रदूषणले उनीहरूको जीवन, प्रजनन, स्वास्थ्य तथा अनुकूलतालाई असर गरिरहेको हुन्छ । जसले दुर्लभ अनि सङ्कटापन्न जीवहरू हराउन सक्ने साथै तिनको स्थानमा अत्याधिक वृद्द्दी विकास गर्न सक्ने अनि  वातावरण सङ्ग सजिलै मिल्न सक्ने जीवहरू अत्याधिक बढ्न सक्छन् । वासस्थान घट्नुको समस्या नै यही हो । नेपालले वातावरणीय सम्पदा संरक्षणको नमुना विश्वमा पेस गर्दै सन्सार भरका प्रकृति प्रेमी अध्ययन अनुसन्धानकर्तालाई भित्र्याउन सक्नु पर्छ । कुनै समय ग्यालापोगसमा पुगी क्रान्तिकारी अनुसन्धान गरेका डार्विन जस्ता व्यक्तित्वहरू विश्व भरबाट नेपाल छिरुन् न । यहाका जीवजन्तु अनि विविधता देखेर दङ्ग परुन् न । अन्तराष्ट्रिय स्तरमा जैविक विविधता पर्यटनको विषयमा नेपाल एक नम्बर पुगोस् न । अझ नेपाल आफैले विविध डार्विन जस्ता अनुसन्धानकर्ताहरु जन्माओस् न  ।

यो दूषित वाग्मती नदीमा सायदै माछाका विविधता होलान्, जसको अध्ययनको लागि कोही अनुसन्धानकर्ता अमेरिका देखि आओस् । नदिलाई भगवान जसरी पुज्ने देशमा नै नदीहरू यतिको दूषित हुनु लज्जास्पद विषय हो । सायद हाम्रो कल्चर नै यस्तो भयो । मन्दिर जाँदा नदीलाई पुज्छौ, जल चढाउँछौ, भगवान ठान्छौं । फोहोर अनि ढल मिसाउँदा सायद हाम्रो धार्मिक आस्था नै पो हराउँछ कि ? हामीले कस्तो संस्कृति भावी पुस्तालाई सिकाउँदैछौ, त्यसको नमुना हाम्रो अहिलेको व्यवहारले देखाउँछ । हामी सुधारिनु नै पर्छ ।


Post a Comment

0 Comments