आज बिहानको कुरा हो । यसै बाटोमा हिड्दै गर्दा मैले एउटा डाएनोसर देखे । जिउदो, सास फेर्दै गरेको । शरिरभरि प्वाख भएको । म तिर हेर्दै क्वा-क्वा गरी कराउदै गरेको । जसै मेरा पाइला उ तर्फ बडे, म देखि डराउदै उड्दै गरेको । मैले कसैलाई उल्याएको हैन । अनन्त आकाशमा खुलस्त उड्ने सानाठुला चराचुरुन्गीका समूहहरु खासमा आधुनिक डाएनोसर हुन् । डाएनोसर भन्नसाथ हामीलाई चलचित्र तथा डकुमेन्ट्रीमा देखाइने ठुला शरिर, भयानक बंगारा, हेर्दै राक्षस जस्तो लाग्ने जीव हो भन्ने भान परेको छ । त्यसैले सितिमिती हामीलाई यो कुरा पत्याउन गाह्रो पर्ला तर हाम्रा वरपर घुमिरहने विभिन्न प्रजातिका चराहरु कुनै समय संसारमा राज गरेका ठुला भीमकाय डाएनोसरका प्रजातिहरूका पुस्ता हुन । उनीहरुको एकै लाइनको विकासक्रम हो । मानव र चिपान्जीजस्ता देखिने मानव पुर्खा अस्त्रेलोपिथेकस जस्तो । डाएनोसर कुनै एउटा निश्चित जनावर होइन, जनावरहरुको समूह हो । जस अन्तरगत सयौ प्रजातिहरु समाविष्ट छन । लगभग २३ करोड वर्ष देखि ६ करोड वर्षसम्म समयावधिलाई मेसोजोइक इरा भनिन्छ, जुन समय डाएनोसरले संसारमा प्रभुत्व जनाए ।
जर्ज गोन्जालेजको प्रखर डाएनोसर चित्रण
भख्खरै चाइनाका एक अनुसन्धानकर्ताले अहिलेसम्म भेटिएको डाएनोसरको सबैभन्दा सानो प्रजातिको जिवाम्स अर्थात जमिनमुनि संरक्षित हाडखोरलाई एम्बर नामक चट्टान भित्रबाट पत्ता लगाए । त्यसको शरिरको बनावट सार्है पृथक रहेछ । चराहरुमा सबैभन्दा सानो मानिने हमिंग बर्ड जत्रो शरिर ।
चिनका वैज्ञानिक जिंग तथा उनको समूहको अनुसन्धानमा आधारित (तस्बिर: जिक्जिन हान )
अर्को एक अनुसन्धानले थप रोचक तथ्य बाहिर ल्यायो कि डाएनोसरहरुमा पनि अहिलेका चरा झैँ खासमा प्वाँख थिए । तर करोडौ वर्ष अघि नै लोप भएका र थोरै केहि मात्र पृथ्वीको उचित भौगोलिक परिवेशमा संरक्षित भएकाले प्रोटिनयुक्त प्वाँख सजिलै कुहिएर गयो । त्यसैले हाल भेटिएका जिवाम्समा प्वाख भेटिएको छैन । फेरी रोचक कुरा यो पनि छ कि यी डाएनोसरहरु उड्न तेती माहिर थिएनन । केहि प्रजातिहरू भने हावामा तैरिएर थोरै समय उड्न सिपालु थिए । जस्तै कि आर्केओप्टेरिक्स . जसको जिवाम्स अध्ययनबाट चरा तथा सरीसृप अथवा रेप्टाइलहरु दुबै जस्तो रहेको पाइयो । त्यसोभए आखिर डाएनोसरमा प्वाख केका लागि ? यसको उत्तर पनि रमाइलो छ । अहिले संसारमा रहेका सरीसृप जनावरहरु चिसो रगत समुहका जनावरहरु हुन् । अर्थात यीनीहरुको शरीरको तापक्रम बाहिरी वातावरण अनुसार परिवर्तन हुन्छ । त्यसैले चिसो छल्न भ्यागुतो सर्पहरु दुलो भित्र छिर्छन । कहिले घाम ताप्न बाहिर निस्कन्छन । हामी मान्छे भने तातो रगत समूहका, त्यसैले शरिरको तापक्रम लगभग ३७ डिग्री सेन्टिग्रेड आसपास हुन्छ । तर यी डाएनोसरहरुमा भने चिसो तथा तातो रगत समूह दुबैको गुण रहेको पाइएको छ । जुन कारणले पनि यीनीहरु करोडौ वर्षसम्म सफल भएको हुन सक्ने अनुमान गरिन्छ । यस किसिमका गुणयुक्त जनावर अहिले संसारमा छैनन, यो विशेषता वैज्ञानिकहरुलाई बुझ्न अझै गाह्रो छ । सायद शरीरमा रहेको प्वाखले पनि चिसोमा शरीरलाई न्यानो बनाउने पो गर्थ्यो कि ?
अध्ययनकर्ताहरुले डाएनोसरहरुलाई दुइ समूहमा विभाजित गरेका छन् : सौरिश्चिया र ओर्निथिश्चिया ।
अब यी नामलाई सजिलो बनाउँ है त । सौरिश्चिया 'सर्वभक्छी' डाएनोसर हो र यस भित्र घाँस या मासु चल्ने फरक समूहहरु छन् (नोट: 'सर्वभक्छी' यो हजुरबुबाले दिनु भएको शब्द हो) । यसभित्र १) सौरोपोड: चार खुट्टे 'घासे' डाएनोसर, र २) थेरोपोड: दुइ खुट्टे ज्यानमारा, लुछुवा, दारे ड़ाएनोसर छन् ।
ओर्निथिस्चिया चै खबटे डाएनोसर हो । शरिरमा सिंग, काडा तथा खबटा भएका ।
दारे र खबटे डाएनोसर
अब जानौं यीनको अन्त्येस्टी कसरी भयो अनि काजक्रिया पश्चात के के भयो? येस्ता खबटे, दारे, घासे, उडुवा, दौडुवा, लुंटे, पुन्टे, अग्ले, पुड्के, च्याम्टे, चेप्टे, रिम्टे, लम्टे, छरुवा, तरुवा तथा पानीमरुवा डाएनोसरका प्रजातीहरुले करोडौ करोड वर्षसम्म पृथ्वीमा वर्चश्व गरे र एकदिन ठुस्सै कसरी हराउन पुगे? तर धन्यबाद छ तिनीहरुलाई जो बिलीन भएर आज हाम्रो अस्तित्व सफल भएको छ । डाएनोसरलाई जे चिज श्राप बन्यो, हामि स्तनधारीहरुलाई वरदान बन्यो । बिचराहरुलाई श्री कृष्णले पनि बचाउन सकेनन् । अरे, पख यार कृष्णपो जन्मेका थे कि थेनन कुन्नि त्यो बेला ?
करिब छ करोड चालिस लाख वर्षअघिको कुरा हो । कृष्ण जन्मनु अघि । कुनै पहाड समानको अंतरिक्ष पिण्ड पृथ्वीमा खस्न पुग्यो । पछिल्लो अध्ययनअनुसार सो पिण्ड अहिलेको मेक्सिको खाडी नजिकै खस्न पुगेछ जसको कारण पृथ्वीमा उथल-पुथल भयो । त्यो आकारको पिण्डसंगको पृथ्वीको टकराबले पृथ्वीको मौसम नराम्ररी प्रभावित भयो जसको वृहत असर त्यो समय वर्चश्व जमाएका मुख्य प्रजाति डाएनोसरमा पर्यो । 'इरिडीयम' धातु मुख्य रुपमा रहेको उक्त अंतरिक्ष पिण्डको कारण महिनौ या वर्ष दिनसम्म धुवाधुलो तथा विषालु ग्यासहरुले वायुमण्डल ढाक्यो । विषालु ग्यासको कारण विषालु वर्षा भयो । महिनौ दिनसम्म सुर्यको किरण पृथ्वी भीत्र छिर्न पाएन । मौसम ब्यापक चिसो हुन थाल्यो । वनजंगल सुर्यको किरण बिना मर्दै गए । ठुला शाकाहारी डाएनोसर विषालु ग्यास तथा विषालु वर्षाले भीजाएको वनस्पति खानाले मरे । मांसाहारी डाएनोसर प्रदुषित वायुमण्डल कारणले मरे । खासमा सोहि कारणले पृथ्वीमा भएका ७०प्रतिशत भन्दा बढी प्रजातिहरू हराए ।
आकाशीय पिण्ड पृथ्वीमा ठोकिन पुग्दाको त्यो क्षणको नाटकीय रुपान्तरण
डाएनोसर हराउनुको अर्को पनि महत्वपुर्ण कारण रहेछ । एकतिर अन्तरिक्ष पिण्डले जीवात्मा तहसनहस बनाएको थियो भने अर्को तर्फ अहिलेको भारत त्यो समयमा छुट्टै टापुको रुपमा समुन्द्रमा अलग्ग थियो । अहिलेको चाइनासंग जोडिएको थिएन । उक्त भारतीय टापुमा लामो समयदेखि भयानक ज्वालामुखी विश्फोट भैरहेको थियो । ज्वालामुखीको कारण उब्जेका तातो ग्यासहरुले वायुमण्डल वृहतरुपमा तताइरहेको थियो । ज्वालामुखीबाट मुख्य रुपमा विषालु सल्फरका ग्यासहरूले वरपर तथा टाढा-टाढासम्म जीवहरु प्रभावित थिए । वैज्ञानिकहरु अनुसार त्यो समय ज्वालामुखीले पृथ्वीको तापक्रम छोटो समयमा नै ७ डिग्रीसम्मले बढेको थियो । उसै त जलवायु परिवर्तनका कारण घटिरहेको डाएनोसरको संग्ख्यालाई भयानक अंतरिक्ष पिण्डको टकराबले ध्वस्त नै बनायो । अधिकाम्स वैज्ञानिकहरु यी मुख्य दुइ कारण देखाउछन जमिन, आकाश तथा पानी सारामा वर्चश्व जनाएका डाएनोसर पृथ्वीको मुहारबाट हराउनु ।
जतातातै फैलिएका डाएनोसरहरुको त्यस्तो मृत्युले केहि समूहलाई भने फाइदा भयो । डाएनोसरको अण्डा चोरेर खाने, किरा फट्यांग्रा खाएर जीवन चलाउने, अहिलेका मुसा जस्ता जीवहरुले ती मरेका डाएनोसरहरु मज्जाले खान पाए । साथै कुनै एउटा राजा मरेपछि अर्को राजा आउने बाटो खुलेझै ती मुसाहरुको उन्मात व्रिद्दी विकास भयो । अन्य ठुला जीवहरु हराएकाले विभिन्न पर्यावरण तथा पारिस्थितिक प्रणालीमा मिल्न सफल भए । अहिले संसारमा फैलिएका मान्छे, बादर, बाघ, भेडा, कंगारु, होएल, भालु लगाएतका स्तनधारी जीवहरु सबै त्यहि मुसा जस्तो पुर्खाका विकसित रुप हुन् । मुसालाई पनि हेला नगरम, यसले पनि हाम्रो अस्तित्व बचाएको छ ।
डाएनोसरको समयको स्तनधारी जीव, मार्क विटनको प्रस्तुति
साथै त्येस्ता डाएनोसर समुहका एक हाँगालाई भने प्रकृतिले आकाशमा उड्न, शरीरलाई हलुका बनाउन सिपालु बनाइदियो । ती नै हाँगाहरु अहिले चराको रुपमा विकसित भए । यसरी कुनै एउटा जीवको विनाशले अर्को जीवको विकाशमा टेवा पुर्याएको छ । अरबौ वर्षमा करोडौ प्रजातीहरु यो पृथ्वीमा उत्पति भएका छन् । कतिपय यो वातावरणमा अनुकुलन हुन्छन र प्रभुत्व जमाउछन । कालान्तरमा बिभिन्न कारणबस हराउन पुग्छन । कुनै कुरा पनि सदा समान हुन सक्दैन । उदय हुन्छ, त अस्त पनि हुन्छ । यो सर्वब्यापी प्राकृतिक नियम नै हो । र मानिस स्वयम प्रकृतिको बस एक पाटो हो, डाएनोसर जस्तै ।
0 Comments