सौगात बोलखे,
म
यहाँ ‘खोज’ पुस्तकको केहि समीक्षा गर्न भनि बसेको छु तर खास कुरा ‘खोज’ मैले
खोजेको किताब नै थिएन । कर्ण शाक्यको अर्को किताब ‘सोच’ पढ्ने इक्षा थियो । काठमाडौं
भ्याली पब्लिक लाइब्रेरीमा ‘सोच’ किताबका कतिपय अंश पढेको थिए तर किताब अति नै
पुरानो थियो । अगाडीको कभर उक्किएको, बीच-बीचका पाना निस्किएको, दोब्रिएको अनि
कहिँ च्यातिएको । अगाडी डिउ डेट सेक्सनमा सयौ चोटी लगेको र फिर्ता ल्याइएको डेटहरु
थिए । ‘के साह्रो फेमस किताब रैछ’ जस्तो लाग्यो । लाइब्रेरीमै थचक्क बसेर केहि अंस
पढ्दा रमाइलो लागेको थियो अनि किनौ किनौ लागिरहेको थियो । पसले कहाँ पुग्दा ‘सोच’
खोज्दा, कर्ण शाक्यको यो ‘खोज’ भन्ने पुस्तक मात्र बाकि छ भन्ने जवाफ पाएं । अनि
किनिदिए । पहिले-पहिले किताब किन्न भनेपछि मरे जस्तो गर्थे म, तर यहि लाइब्रेरीको
३ वर्षको संगतमा मेरो बानी नै परिवर्तित भैसकेछ । रुची मिल्ने राम्रो रिभिउ भएको
किताब देख्यो कि किनु किनु लाग्ने । खासमा कर्ण शाक्यको किताब मैले ड्याडलाई गिफ्ट
पनि दिनुपर्ला भनेर किनेको थिए । फ्र्यान्क्ली भन्नु पर्दा ड्याडको एउटा बानीले
मलाई थोरै बहुत इरिटेट लागिरहेको थियो : फेसबुक चलाउने बानी । हुन त त्यो लतको
शिकार अहिलेका युवा तथा बुढा हुदैगरेका पुस्तालाई भैरहेको देखिन्छ । सायद हाम्रा
आमा-बाबाको पुस्तालाई जीवनक्रमको बिचमा आएका टेक्नोलोजीको अध्यारोअ पक्षबारे त्यति
प्राक्टिस वा जानकारी भएन अनि वहाँहरू त्यति कन्सियस नै नहुनु भा होला । त्यसमा
थोरै किताब पढ्ने बानिले पनि प्रभाब गर्ला कि भन्ने पनि मेरो आसय थियो । त्यसमाथि
किताब पढ्ने बानि भैसकेको मलाई ड्याडले सक्काएपछी, म पनि पढीहालौला नि भन्ने पनि थियो
। फेरी किताबको महत्व पनि किनी दिनेलाई बढी हुदो रहेछ । हुन त जे कुराको महत्व पनि
पाउने भन्दा ल्याउनेलाई हुदोरैछ । गिफ्ट पनि लिनेलाई भन्दा दिनेलाई त्यसको महत्व विशेष
थाहा होला । जस्तै सविन साथीलाई वारेन बफेटको जीवनीको किताब किनेर बर्थडेमा गिफ्ट
दिएको थिए । उसलाई दुईवर्ष पछी कस्तो लाग्यो भनेर सोध्दा उ भन्थ्यो “पेज २८मा
पुग्यो बल्ल !” म त दङ्ग । ड्याडलाई थोरै बहुत फोर्स नै गराए जस्तो गरी किताब त दिइयो
तर बुढाले आधी जस्तो मात्र पढ़ेछन् । “शाक्यको मनोभावनाको गनथन रैछ बढी” ड्याडले
राय राख्नु भो । मलाई लाग्यो ठिकै छ आधा भएनी पढ्नु भएछ । त्यो पनि राम्रै हो ।
ड्याड पेशाले शिक्षक नै हुनुहुन्छ; पढाउने मान्छेले बुझेकै छ नि । किन कराइरनु जस्तो
लाग्यो । ड्याड पछी किताब मैले पाइहाले पनि ।
मलाई
भने यो ‘खोज’को च्याप्टर वाइज खोज गर्न मन लाग्यो । पुस्तक अगाडीका ५-६ च्याप्टर
लगातार पढे । लेखकका विभिन्न कुराका मनोभावना समेटिएका रहेछन । रोचक सम्झनाहरु
रहेछन । पाठकलाई नी खुब रमाइलो लाग्ने । सुर्यबिनायकको मिठाई पसलेसंगको लेखकको
भेटघाट, अनि पसलेले पैसा लिन नमानेको प्रसङ्गले लेखक प्रतिको पाठकको आत्मियता तथा
विश्वासको नमुना पेस गर्यो । रमाइलो लाग्यो पढ्दा । केहि समय अक्सफर्ड
विश्वविधालयबाट संचालित ‘वाइल्ड क्रु’ नामक प्रोग्रामको ‘कन्जरभेसन स्टडी’को
सिलसिलामा किताब एक महिना जति र्याकमै थन्कियो । पछी फेरी किताबका पाना पल्टाउदा
जुन च्याप्टर पढु झैँ लाग्छ त्यहि पढ्छु भन्ने निर्णय गरे । अब म परे विधार्थी
प्राकृतिक विज्ञानको, अनि किताबको अन्त्यतीर मलाई सुहाउदो किसिमको दुई पाठहरू देखे
। प्रकृति संरक्षण सम्बन्धि तथा रुख पहाड चढ्दै छ शिर्षकको । ल आज अब यो पढ्छु
जस्तो लाग्यो । यो आजको रिभिउ पनि यहि पाठहरुमा केन्द्रित गर्न चाहे ।
प्रकृति
संरक्षण च्याप्टरमा लेखक विभिन्न संरक्षण कार्यक्रमहरुमा आफ्नो सक्रियता बारे
सम्झिन्छन् । प्रकृति संरक्षणको शिलशिलामा बनेका सुमधुर सम्बन्ध अनि साथिभाइहरुको
आनीबानी अनि भेटवार्ताबारे सम्झिन्छन् । अन्नपुर्ण संरक्षण क्षेत्रमा आफ्नो तथा
सहपाठीहरूको योगदानबारे पनि सम्झिन्छन् । विषय मिलेर पनि होला मलाई चै एकदम राम्रो
लाग्यो । एउटा ब्यबसायी भएर लेखकको वातावरण तथा प्रकृतितर्फको त्यस्तो समिपता देख्दा
निकै खुशी लाग्यो । पछी पढ्ने क्रममा नै थाहा पाए लेखक त कुनै समयका फरेस्ट्री कै
विधार्थी पो रहेछन् । उनको प्रकृतिप्रतिको समिपता देख्दा लाग्यो हरेक ब्यबसायीहरूलाई
फरेस्ट्री पढाउन पाए । डोनाल्ड ट्रंपलाई
बेलैमा प्रकृतिबारे पढाउन पाएको भए उनको प्रकृति, जलवायु तथा विज्ञानप्रतिका
विषयमा यत्तिको एन्टी-सोच अनि क्रुर-विचार हुदैन थियो कि ? पैसा कमाउनु मात्र ठुलो
कुरा त हैन रैछ, मुख्य कुरा योगदान हो भन्ने कुरा नि कर्णले अप्रत्यक्ष रुपमा यो च्याप्टर
मार्फत भनिरहेका थिए । आफ्ना साथीहरुलाई डब्लु.डब्लु.एफका विभिन्न पदमा मनोनित
गर्दा देखि विदेशी धनराशीको अत्याधिक पुरस्कार दिने/नदिनेसम्मका उनका विष्लेषण
सान्दर्भिक पाएँ । नेपालका विभिन्न संरक्षणविदहरुको प्रसङ्ग उब्जिएपछि मलाई पनि
केहि खुलदुली लागिरहेको थियो । उनले कसका बारेमा के भन्छन कुन्नी भनेर ।
उनले
डा. तीर्थमान मास्केको सम्झना गरे । खासमा मलाई थाहा नै थिएन, डा. मास्के
बितिसकेको कुरा । हालै एउटा अनुसंधनात्मक लेखको शिलशिलामा घडियाल गोहीबारे अध्ययन
गरिरहेको थिए । प्राय रिफेरेंसमा मास्के टि देखिरहेको थिए । सम्भब भएमा लेखको
क्रममा टेलिफोन बाटै वार्तालाप पो गर्न मिल्छ कि भन्ने सोचिरहेको थिए । तर त्यो त
सम्भब नै रहेनछ । खल्लो लाग्यो । तथापि नेपालको घडीयाल गोही संरक्षणमा उनको
महत्वपुर्ण योगदानको खुलेर प्रसंसा गर्न मन लाग्यो । सर्वाधिका रमाइलो लागेको
प्रसङ्ग भने ‘बाघलाई डारटिंग अनि कोलारा लगाउने’बारे थियो । हुन त त्यो प्रसङ्ग
कसलाई चै मन परेन होला र । बाघलाई बेहोस बनाउने क्रममा बिचरा लेखक र डा. मास्के
रुखको माख्लो र तल्लो हाँगामा चढ्न पुगेछन् । त्यहि बिच ‘धमाल’ फिल्ममा झैँ मास्के
भन्दा माथिल्लो हाँगामा उभिएका शाक्यलाई पिशाबले नराम्ररी च्यापेछ । भगवानले
हेरेको भनेको सायद त्यहि क्षण होला, जब ठिक त्यहि बेलामा भएको घटनालाई शाक्य यसरी
सम्झिन्छन् :
“मुसलधारे पानीको धारोमा
जिउबाट अरु के-के बग्यो, कसलाई के थाहा ? रुखको मेरै हाँगामुनि बसेका तिर्थले चाल
पाएनन् ।” यो वाक्यले खुबै हसायो ।
अर्को
पाठको शिलशिलामा लेखक अर्का तिर्थका सम्झना गर्दछन् : डा. तिर्थबहादुर श्रेष्ठ ।
मान्छेका कारण कसरी जीवाणुहरु सलबलाउदैछन् डा. तिर्थका कुरा र लेखकका विचारमा
झल्किरहेका थिए । र मलाई लाग्छ येस्मा दुइमत पनि छैन । तातो वायुमण्डलको आडमा आज
लामाखुट्टेहरू हिमाल चढ्दै छन् । लामखुट्टे मात्र हैन रुखहरु नै पहाड चढ्न थालेछन्
। पहिले १०/१२ हजार फिटसम्ममा रुख नदेखिनेमा अहिले १२-१३ हजार फिटसम्म १०-१२ फिटे
रुख देखिन थालेछ । तापक्रम व्रिद्दीको कारण त्यस्ता बोट-बिरुवाका विउहरु तल तिरको
भूभागमा नउम्रने भए र मास्तिर फैलिएका बिउ भने वातावरण अनुकुल उम्रदै गए अनि रुख
समेत हिमाल चढ्न थाले । तथ्य-प्रमाणहरु प्रस्टसँग भनिरहेछन् हाम्रा वातावारणीय
असरका कुराहरु तर हामी जनता तथा नेतृत्वलाई कसले झस्काउने । सरकार तथा माख्लो
निकायलाई यस्ता कुरा सुझाउन अनि बुझाउन सक्ने अन्य कर्ण शाक्यहरू नेपालमा अति नै
आवश्यक देखिन्छन् ।
मौसम
परिवर्तनको खास असर नबुझेका र विकसित राष्ट्रबाट दिइने थोरै आर्थिक लाभमा बिकेका
व्यक्ति तथा संस्कारप्रति लक्षित शाक्यको अर्को विचार निकै सोचनीय छ । उनि लेख्छन्
:
“हामीले
सधै संरक्षण र विकासको नाममा हात फैलाउन मात्र जान्यौं । तर, आफूसित भएको अनमोल
अस्त्र प्रयोग गर्न सकेनौं । विश्वको हावापानी कस्तो हुन्छ र भविष्यमा यो कसरी
अगाडी बढ्छ मुल्यांकन गराउन हामी नेपालको जैविक विविधतामा आएको परिवर्तन सम्बन्धि
सुचना प्रवाह गर्न सक्छौ ।”
“नेपालले हाल यति धेरै सामुदायिक वनको विकास गरी राष्ट्रको
झन्डै ३०/४० प्रतिशत भूभाग हरितकरण गरेर पनि क्योटो प्रोटोकल अन्तर्गत कुनै फाइदा
लिन सकेको छैन । हामी सधै दान लिने क्रममा तछाडमछाड गर्छौ । तर, कर्तब्य गरेर
आफ्नो अधिकार खोज्न जान्दैनौ ।”
पेशाले
होटेल ब्यबसायी शाक्यको प्रकृति तथा जैविक विविधता संरक्षण यतिको गहिरो चासो होला
भन्ने लागेको थिएन । आखिर के गर्दैछ नेपाल सरकार । येस्ता ब्यबहारिक विकासमा खै
हाम्रो प्राथमिकता । आखिर के सुझाउछन् नेपालका विज्ञहरू नेपाल सरकार तथा यीनका
मन्त्रालयहरूलाई । किन हुदाखादाको वृहत वनविनास गरी एयरपोर्ट निर्माणका ढाँचा
ल्याइन्छ अनि टाल्न कै लागि संरक्षण र वृक्षारोपणका खोक्रो कसम खाइन्छ ? किन अझै
हामी विधुतीय सामानमा अचाक्ली कर लगाउन मै तम्सिन्छौँ ? चन्द उधोग, ब्यबसाय तथा
ब्यब्क्तिगत फाइदाको लागि किन देशलाई खाल्डोमा हाल्न उद्धत छौ ? असरमा हामी नै छौं, तर किन हामी नै आखा चिम्लन्छौ
? अन्त्यमा म यो लेख कर्ण शाक्यको वाक्यहरु समेट्दै टुंग्याउन चाहन्छु :
“जीवनचक्रमा जब एउटा सुक्ष्म जीवाणुको त भूमिका रहन्छ भने
यो विश्वको सानो गाउँमा हिमाल बोकेकको नेपालको भूमिका कसरी चानचुने हुन सक्छ? बस,
चुनौती एउटा मात्र हो: त्यो हो सान्दर्भिक खोजको ।”
धन्यबाद
0 Comments